काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो ।
ज्ञवालीले शेरबहादुर देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो, त्यो स्पष्ट हुनुपर्ने बताउनुभयो। दुई दिन अघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उहाँले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ती जनाउनुभयो ।
उहाँले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा जोड दिनुभयो ।