२० जेष्ठ २०८३, बुधबार 1780495804
अर्थ

नागढुंगा सुरुङमार्गलाई जापानले थप साढे ५ अर्ब ऋण दिने

काठमाडौं । नागढुंगा सुरूङमार्ग परियोजनालाई जापानले थप साढे पाँच अर्ब ऋण दिने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा ऋण सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा नेपाल र जापानका अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरे ।

नागढुंगा सुरुङ निर्माण परियोजनाको लागि जापान सरकारले डिसेम्बर २०१६ मा १६.६३६ अर्ब येन नेपाललाई उपलब्ध गराउने गरी सम्झौता भएको थियो । तर, बढ्दो मूल्य र अन्य कारणहरूले गर्दा रकम अभाव भएपछि थप ५.७ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतासँगै नागढुंगा सुरुङ निर्माण परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण रकम २२.३३६ अर्ब येन पुगेको छ ।