काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ जना र प्राविधिकतर्फ ३ जना गरी कुल ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका थिए । यसैगरी, गृह मन्त्रालय (सचिवस्तर) को सोही मितिको निर्णयले जनपदतर्फ १ जना र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका थिए ।
अन्य पदोन्नतिमा १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् । यसरी विभिन्न पदमा पदोन्नति भएका कुल ४७ जना प्रहरी अधिकृतहरूमध्ये ४४ जना शुक्रबार सुशोभित भएका हुन् । पदोन्नति भएकामध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक भने हाल तालिमको सिलसिलामा कोरियामा रहेकाले समारोहमा अनुपस्थित थिए ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका सबै अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । कार्यक्षेत्रमा देखाएको लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनका आधारमा यो पदोन्नति भएको उनले स्पष्ट पारे । पदोन्नतिसँगै जिम्मेवारी पनि थपिएको भन्दै उनले अबका दिनमा अझ बढी सिर्जनशील, जवाफदेही र संवेदनशील भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।
समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता जनाए । उनले सङ्गठनको लक्ष्य प्राप्तिका लागि अझ उत्कृष्ट ढंगले कार्य गर्ने बताए । उक्त विशेष समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै अन्य प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।


