२५ जेष्ठ २०८३, सोमबार 1780938015
राजनीति

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन्। सोमबार काठमाडौँको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको बताएका हुन्।

उनले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए। राणा शासनकालमा मधेसमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै अध्यक्ष राउतले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए।

वि.सं. २००७/००८ सालपछि कांग्रेस र कम्युनिस्टहरूले सत्ताको नेतृत्व गरे पनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाइ छ। उनका अनुसार नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतका मधेसका मुख्य मागहरू अझै पूरा हुन सकेका छैनन्।

उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेसीहरू ठगिएको उल्लेख गरे। मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनले दाबी गरे।

आफ्नो सम्बोधनका क्रममा राउतले भने, ‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे, कांग्रेस कम्युनिस्टहरूले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ। २००७/००८ सालमा कांग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकता नदिने, सुकुमबासीहरूलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिने गरी विभिन्न रूपले ठगी गर्दै आएको छ। मत चाहिँ मधेसबाट लिने, सरकार चाहिँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहिँ नदिने षड्यन्त्र हुँदै आएको छ। त्यति मात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरू ठगिएको हामीकहाँ प्रमाण छ।’

उनले मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारसँग जोडदार आग्रह गरे। मधेसको माग सम्बोधनका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी समेत अध्यक्ष राउतले दिए।