काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ। बुधबार भव्य रूपमा उद्घाटन गरिएको अधिवेशन मतपत्रसम्बन्धी विवादका कारण अन्ततः रोकिएको हो।
निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सदस्य पदका एक उम्मेदवारको नाम समावेश नभएको विषय सार्वजनिक भएपछि प्रतिनिधिहरूबीच असन्तुष्टि चुलिएको थियो । विवाद बढेपछि सुरक्षा व्यवस्थालाई कडा बनाउँदै अधिवेशनस्थलमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको थियो।
मतदान प्रक्रिया पटक–पटक प्रभावित भएपछि प्रतिनिधिहरू अधिवेशनस्थलबाट बाहिरिन थालेका थिए। त्यसपछि निर्वाचन समितिले तत्कालका लागि निर्वाचन प्रक्रिया रोक्ने निर्णय गर्दै अधिवेशन स्थगित भएको घोषणा गरेको हो।
प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछानेसहित उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा थिए। अर्का आकांक्षी वदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएका थिए।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएको त्रुटिसँगै करिब चार सय प्रतिनिधिको समायोजन सूचीबारे परेका उजुरी तथा विवादको सम्बोधन आवश्यक देखिएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको हो।
केसीले जारी गरेको सूचनामा प्राविधिक तथा व्यवस्थापकीय पक्षहरू मिलाउन केही समय आवश्यक पर्ने उल्लेख गर्दै अधिवेशन पुनः सञ्चालन हुने मिति र बाँकी निर्वाचन प्रक्रियाबारे कम्तीमा २४ घण्टा अगावै आधिकारिक जानकारी गराइने बताएका छन्।
यसअघि पनि आन्तरिक विवादकै कारण रास्वपाले मधेश प्रदेश अधिवेशनको प्रक्रिया स्थगित गरेको थियो।


