२८ जेष्ठ २०८३, बिहिबार 1781202675
Banner

सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र केही वर्षदेखि कमजोर माग भएको अवस्थामा रहेको उल्लेख गरे । उनले भने- ‘कोभिडपछि बजारमा माग कमजोर छ । अर्थतन्त्रमा शिथिलता छ । व्यवसायीहरूको मनोबल कमजोर नै छ । माथि उठ्न सकेको छैन ।’

अर्थमन्त्री वाग्लेले कमजोर मागलाई माथि उठाउन झकझक्याउनु पर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे । बजेट मार्फत सरकारले बजार मागलाई पुनर्जार्गित गर्ने कार्यक्रम ल्याउँदा मध्यमवर्ग र सहरी भनेर व्याख्या गर्नु यथार्थपरक नहुने उनको भनाइ थियो ।

उनले भने, ‘मध्यमवर्गको क्रयशक्ति घट्दा उद्योग, व्यापार, सेवा, पर्यटन, रोजगारी सबै प्रभावित हुन्छन् । मुलुकको अर्थतन्त्रलाई पुन चलायमान बनाउन मध्यमवर्गको आत्मविश्वास, निजी क्षेत्रको भरोसा, राज्यको खर्च गर्न सक्ने क्षमता पुनर्स्थापित गर्नु आर्थिक पुनर्उत्थानको आवश्यक सर्त हो ।’

उनले कुनै निश्चित वर्गलाई सुविधा दिने विषय नभएको बताए । अर्थमन्त्री वाग्लेले अहिलेको अवस्थालाई परिमार्जन गरेर जाने गरी बजेट ल्याएको बताए । सरकारले नीतिगत रूपमा दोहोरो चरित्र त्याग गरेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अघि बढाउने स्पष्ट दृष्टिकोण लिएको दाबी गरे । उनले भने, ‘राज्यले सबै काम गर्ने र निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्ने पुरानो सोचबाट बाहिर निस्किएकै हो । बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट टाढा छौँ ।’

सरकारको दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्र बिचको सहकार्यमा आधारित भएको अर्थमन्त्री वाग्लेको तर्क थियो । उनले बजार स्वनियमन नहुने भन्दै राज्यले नियमन गर्नु पर्ने बताए । उनले भने, ‘बजार स्वनिर्मित हुँदैन । राज्यले बनाई दिनुपर्छ । मार्केटहरू स्वनियमित पनि हुँदैनन् । नियमन पनि राज्यले गर्ने हो । बजार आफैँ स्थिर पनि हुँदैन । त्यसलाई राज्यका निकायहरूले स्थिर बनाउने हो । त्यही धारमा आगामी आर्थिक वर्षको बजेट बनेको छ ।’

उनले नियमन भन्दा पनि प्रतिस्पर्धी बजारले मात्रै नीतिगत सुधार हुने बताए । सरकारले सामाजिक सुरक्षाको नाममा रहेका कुनै पनि कार्यक्रमहरू कटौती नगरेको बताए । उनले विगतका सरकारले लोक कल्याणकारी ,गरिवका नाममा ल्याएको कार्यक्रम कुनै पनि नकाटिएको बताए । उनले भने, ‘सामाजिक सुरक्षाका कार्यक्रम वर्तमान सरकारले कटौती नभई थप गरेको छ । दलित बालबालिकाका लागि पौष्टिक आहार लगायतका कार्यक्रम थप गरेका छौँ ।’