२८ जेष्ठ २०८३, बिहिबार 1781202380
Banner

आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ : विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा उठेका प्रश्न र चौतर्फी आलोचनाको सामना गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान बजेटको वैचारिक धरातल, कर नीति र आफ्नो निष्ठाको बचाउ गरेका छन् । उनले यो बजेट कुनै कम्युनिस्ट पार्टीको परम्परागत वितरणमुखी मोडेल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समतामूलक आर्थिक नीति र दर्शनमा आधारित रहेको दाबी गरे ।

मध्यम वर्गलाई ‘बायस’ नहुन आग्रह गर्दै अर्थमन्त्री वाग्लेले बजेटले निम्न वर्गलाई मध्यम वर्गमा उकास्ने स्पष्ट मार्गचित्र बोकेको जिकिर गरे । “हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, समृद्धि सिर्जना हो,” संसद्‌मा उनले भने, “केबल सहायता होइन अवसर, वितरण होइन उत्पादन, र केबल भत्ता होइन आम्दानी र रोजगारीको दर्शनबाट यो बजेट निर्मित छ ।”

पछिल्ला दिनहरूमा अर्थ विधेयक हेरफेर र विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर नीतिमा बजेटअगावै सूचना चुहावट भएको भन्दै संसद् र सार्वजनिक वृत्तमा अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठिरहेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यी सबै आरोपहरूलाई ‘निराधार र राजनीतिक रूपमा प्रेरित’ भन्दै कडा प्रतिवाद गरे।

आफूमाथिका आरोपहरू प्रमाणित भए मन्त्री पद मात्र नभई सार्वजनिक जीवन नै परित्याग गर्ने उनले घोषणा गरे । संसद्‌मा उनले भने, “दुई अर्ब होइन, दुई रुपैयाँ बदमासी र बेइमानी मबाट भएको प्रमाणित हुन्छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न तयार छु।”

आफूविरुद्ध खनिएका सांसदहरूलाई नैतिक जवाफदेहिताको मापदण्ड अपनाउन आग्रह गर्दै उनले प्रतिपक्षी दलहरूलाई चेतावनीपूर्ण शैलीमा थपे, “तपाईंहरूका काण्डबारे म अनभिज्ञ छु भन्ने नठान्नुस्, ती पनि खुल्नेछन्।” सुशासनको कठोर प्रतिबद्धता बोकेर आएको रास्वपाको सरकारले दुई महिनामै जनताको विश्वासघात गर्न नसक्ने उनको दृढता थियो।