४ आश्विन २०८१, शुक्रबार 1726845601
Banner

एमाले सचिवालय बैठकको निष्कर्ष : सत्ताको चरम दुरुपयोग र अन्तर्घात भयो

काठमाडौं – नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टीको निर्वाचन विभागले प्रतिवेदन पेस गरेको छ। स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदनमा चुनावमा अन्तर्घात देखिएको तथा टिकट वितरणमा समस्या आउँदा अपेक्षित नतिजा नआएको औंल्याइएको छ।

गठबन्धन तथा पार्टी विभाजन लगायतको प्रतिकुलतमा समेत प्राप्त परिणाम राम्रो पक्ष रहेको तर अन्तर्घात विगतको तुलनामा बढेको निष्कर्ष निकालिएको छ।

निर्वाचनमा भएका सकारात्मक र नकारात्मक पक्ष औंल्याउने क्रममा चुनावमा घात(अन्तर्घात देखिएको, टिकट नपाउँदा अन्तर्घात गर्ने प्रवृत्ति देखिएको प्रतिवेदनमा उल्लेख छ । २३ पेजको प्रतिवेदनमा चुनाव हार्नुको अर्को कारण सरकार पक्षबाट भएको धाँधलीलाई लिइएको छ।

यी सबै पहिले नै आंकलन गरेर पनि राम्रो परिणाम आउने आंकलन पार्टीले गरको तर अपेक्षित नतिजा नआएको प्रतिवेदनमा भनिएको छ।

‘घेराबन्दीका बाबजुद पनि राम्रो परिणाम आउँछ भन्ने थियो। तर पनि सोचे अनुसारको परिणाम आउन सकेन’, प्रतिवेदनमा लेखिएको छ, ‘गठबन्धन, घात(अन्तर्घात उम्मेदवार छनोट, पार्टीका नेता कार्यकर्ताको परिचालन चुस्तदुरुस्त नहुनु र सरकारी पक्षबाट भएको धाधली पनि निर्वाचनमा अपेक्षित नतिजा नआएको हो।’

कमिकमजोरी सुधारेर जान सके त्यसले आगामी निर्वाचनमा एमालेको पक्षमा परिणाम ल्याउन सकिने प्रतिवेदनको ठहर छ।

सचिवालयमा प्रतिवेदनमा माथि छलफल भइरहेको छ।