२६ असार २०८३, शुक्रबार 1783663256
Banner

कानुनमन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूत अर्बमको शिष्टाचार भेटवार्ता

काठमाडौँ : नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार सिंहदरबार स्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत अर्बमले मन्त्रीको जिम्मेवारी पाएका गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

नेपाल सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूका विषयमार्फत भ्रष्‍टाचारको उन्मूलन, शासकीय सुधार हुने कुरामा विश्‍वास गरी यसमार्फत अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गर्न उत्साहित बनाएको उनको भनाइ थियो।

मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायताका सन्दर्भमा मन्त्रालयबाट पूर्वगृहकार्य भइसके‍‍को हुँदा यस विषयलाई टुङ्‍गो लगाउनेतर्फ अघि बढ्‍नुपर्ने उल्लेख गरेकी थिइन् । मानव बेचविखन तथा ओसारपसार, लगानीको प्रबर्द्धन र पूर्वाधार विकासका विषयमा समयानुकूल कानून निर्माण गर्ने विषयमा पनि सार्थक छलफल भएके थियो ।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य गरिरहेको विषयमा जानकारी दिएकी थिइन् ।

एकीकृत कानूनी सहायता र संक्रमणकालीन न्यायका विषयमा अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको समेत उनले उल्लेख गरिन्।