काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काठमाडौँको नागढुंगा चेकपोस्टमा प्रहरी कर्मचारीले रकम लिएको घटना छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। बिहीबार सङ्घीय संसद्मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘काठमाडौँमा रकम उठाएको घटनाबारे छानबिन गर्न निर्देशन दिएको छु ।’
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने एक जना सांसदले काठमाडौँ आउने बससँग प्रहरीले १५० रुपैयाँ नगद लिएको भन्दै प्रश्न उठाएका थिए । त्यसबारे जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने काम यो सरकारको मुख्य दायित्व हो ।’
मन्त्री गुरुङले जरासम्म पुगेर लागुऔषध नियन्त्रण गर्न निर्देशन दिएको बताए । उनले भने, ‘लागु औषध नियन्त्रण गर्न गत वर्ष ७९ लाख बजेट रहेकोमा आगामी वर्षको लागी २ करोड २७ लाख विनियोजन गरिएको छ ।’ लागुऔषध विरुद्धको सचेतना बढाइने गुरुङले बताए ।
उनले भने, ‘लागुऔषध नियन्त्रण गर्न नयाँ नियमावलीको मस्यौदा पेस गरेर क्याबिनेटमा पेस गरिने छ ।’ गृह मन्त्रालयमा कार्य सम्पादन मूल्याङ्कनको आधारमा दण्ड र पुरस्कारको नीति लागु गर्न निर्देशन दिएको उनले बताए ।
ईन्टरनल सफ्टवेयर बनाएर कार्य प्रगतिबारे मनिटर गरिने मन्त्री गुरुङको भनाई छ । कमजोर कार्यसम्पादन गर्नेलाई कारबाहीको नीति अख्तियार गरिने उनले बताए । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘बोर्डरमा राजस्व चुहिने प्वाल टाल्ने गरी काम गरिरहेका छौँ ।’
अहिले १९ हजार कैदी बन्दीको क्षमता भएको कारागारहरूमा २६ हजार कैदी बन्दी रहेको उल्लेख गर्दै उनले भने, ‘हरेक प्रदेशका एउटा ठुला कारागार बनाउने योजना छ, यसबाट क्षमताभन्दा धेरै कैदी राख्नुपर्ने अवस्था अन्त्य हुने छ ।’
देशभर अहिले ११ वटा कारागार भवन निर्माणाधीन अवस्थामा रहेको उनले बताए । थप २० वटा कारागार बनाउन नयाँ बन्ने बजेट विनियोजन गरिएको गुरुङले बताए। उनले भने, ‘मन्त्रालयलाई डिजिटल रूपमा लैजाने गरी बजेट विनियोजन गरिएको छ।’


