३० असार २०८३, मंगलबार 1784034477
समाचार

भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए

काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चारजना मानिस मृत अवस्थामा फेला परेका छन्। भक्तपुर, धनकुटा, ताप्लेजुङ र पाल्पामा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-५ बागेश्वरीमा डेरा गरी बस्ने ५२ वर्षीय दानबहादुर बुढाथोकी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्। उनी उदयपुरको कटारी नगरपालिका-९ का स्थायी बासिन्दा हुन्।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-३ याक्चना घाटस्थित तमोर नदीको किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी १५ वर्षीय एक बालक आइतबार मृत अवस्थामा फेला परेका छन्।

यता ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरुङ्खिम खोपी बस्ने २३ वर्षीया जिरमाया गुरूङ सोही गाउँपालिका-६ मेहेले हिङथापुस्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी पाल्पाको तानसेन नगरपालिका-१ आँपटारी बस्ने ४५ वर्षीय रामचन्द्र गन्दर्भ पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्। यी सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।