११ असार २०८३, बिहिबार 1782420949
फिचर

र्जु ताल : प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटन सम्भावनाको संगम

विराटनगर । विराटनगर–३ निवासी भरत घिमिरे फुर्सदको समय मिल्नासाथ बर्जु ताल पुग्ने गर्छन् । विराटनगरबाट छोटो दूरीमा रहेको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले बर्जु ताल उनको पहिलो रोजाइको गन्तव्य बनेको छ ।

उनी मात्र होइन, विराटनगर आएका आफ्ना पाहुनालाई घुमाउन लैजाने प्रमुख स्थान पनि बर्जु ताल नै रहेको घिमिरे बताउँछन् ।

“बाहिरबाट साथीभाइ वा आफन्त आउँदा घुमाउन लैजाने पहिलो ठाउँ बर्जु ताल नै हो,” उनले भने, “प्रकृतिको मनोरम दृश्यसँगै मनोरञ्जन लिन पाउँदा निकै आनन्द लाग्छ ।”उनका अनुसार ताल वरपरको स्वच्छ वातावरण, खुला आकाश, हरियाली र ग्रामीण परिवेशले बर्जु ताललाई अझ आकर्षक बनाएको छ । यही कारण बर्जु ताल पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल (चिमडी बर्जुताल सिमसार क्षेत्र) अहिले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिने यो ताल बर्जु गाउँपालिकाको पहिचानसँग समेत जोडिएको छ । गाउँपालिकाकै नाम बर्जुतालबाट राखिनु यसको स्थानीय महत्वको प्रमाण मानिन्छ ।तराईकै ठूलो प्राकृतिक ताल

तराई क्षेत्रकै ठूलो प्राकृतिक तालमध्ये एक मानिने बर्जुताल करिब १५२ विघा क्षेत्रफलमा फैलिएको छ । यसमध्ये ६० विघा क्षेत्र मुख्य ताल, ३० विघा पूर्वी ताल तथा ३२ विघा निर्माणाधीन पश्चिमी तालले ओगटेको छ । समथर भूभागमा फैलिएको विशाल जलाशय, हरियाली वातावरण र खुला प्राकृतिक दृश्यले यसलाई अन्य पर्यटकीय स्थलभन्दा फरक बनाएको छ ।

तालको संरक्षण तथा विकासका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायले विगत केही वर्षदेखि पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसको परिणामस्वरूप ताल क्षेत्रमा पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको स्थानीयहरू बताउँछन् ।

प्रधानमन्त्रीको भ्रमणपछि बढ्यो चर्चा

बर्जुताल संरक्षण समितिका अध्यक्ष बिलट सिंह श्रेष्ठका अनुसार वि.सं. २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तालको अवलोकन गरेपछि यसको चर्चा राष्ट्रिय स्तरमा फैलिएको हो ।

“त्यसभन्दा अघि तालबारे सीमित क्षेत्रमै जानकारी थियो,” श्रेष्ठले भने, “प्रधानमन्त्रीको भ्रमणपछि यसको प्रचारप्रसार व्यापक भयो र देशभरिका मानिसले बर्जु तालबारे चासो दिन थाले ।”

त्यसपछि ताललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न योजना अघि सारिएका थिए । सोही योजनाअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार र बर्जु गाउँपालिकाले दुई करोड चार लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । 

उक्त बजेटबाट स्वागतद्वार, वनभोज स्थल, चमेना गृह, टिकट काउन्टर, सार्वजनिक शौचालय निर्माण गर्नुका साथै ताल क्षेत्रको सडक स्तरोन्नति तथा भूभाग व्यवस्थापनको काम सम्पन्न गरिएको संरक्षण समितिले जनाएको छ । त्यसपछि पनि तालको संरक्षणको लागि धेरै कामहरु प्रदेश सरकार र स्थानीय तहको समन्वयमा भएका छन् । पर्यटकको बढ्दो आकर्षण

करिब सात किलोमिटर परिधि रहेको बर्जु तालको एक फन्को लगाउन झण्डै दुई घण्टा लाग्छ । तालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यका कारण यहाँ दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् ।

मोरङ, सुनसरी, झापा, इलाम, उदयपुरलगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक बर्जुताल पुग्ने गरेका छन् । त्यसैगरी भारतको जोगवनी, वीरपुर, फूलकाहा, घुस्की र बस्मतिया क्षेत्रबाट समेत उल्लेख्य संख्यामा भारतीय पर्यटक आउने गरेका छन् ।

बर्जुताल संरक्षण समितिका अनुसार वार्षिक रूपमा करिब दुई लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले तालको भ्रमण गर्ने गरेका छन् । तीमध्ये भारतीय पर्यटकको संख्या उल्लेख्य रहेको छ ।

स्थानीयवासी दुखाराम चौधरीका अनुसार २०७५ सालअघि तालमा आउने पर्यटकको संख्या निकै कम थियो । पछि बढ्दै गएको उनले बताए । “अहिले जस्तो चहलपहल पहिले थिएन,” उनले भने, “पूर्वाधार विकास र प्रचारप्रसार बढेसँगै बर्जु तालले नयाँ पहिचान पाएको छ ।”

स्थानीय सरकारको प्राथमिकतामा ताल

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ कुमार रायका अनुसार बर्जुताल गाउँपालिकाको सबैभन्दा महत्वपूर्ण सम्पत्ति र प्रमुख आकर्षण हो । त्यसैले यसको विकासलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

उनले सीमित स्रोतसाधनका बाबजुद ताल क्षेत्रको थप विकासका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिए । सडक विस्तार, पर्यटकमैत्री संरचना निर्माण तथा संरक्षण कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

पर्यटन व्यवसायी राजन श्रेष्ठ पनि बर्जुतालको सम्भावना निकै ठूलो रहेको बताउँछन् । उनका अनुसार पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सके यसले पूर्वी नेपालको समग्र पर्यटन क्षेत्रलाई फाइदा पुर्याउनेछ ।

“भारतीय पर्यटकका लागि सीमा नाकालाई अझ सहज बनाउन सके यहाँको पर्यटन व्यवसायले ठूलो लाभ लिन सक्छ,” उनले भने ।जैविक विविधताको केन्द्र

बर्जुताल पर्यटनका लागि मात्र होइन, जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन् ।

सन् १९९६ देखि संरक्षण कार्यक्रम सुरु भएपछि यहाँ आउने प्रवासी चराको संख्या उल्लेख्य रूपमा बढेको थियो । यद्यपि सन् २००८ को कोशी बाढीपछि केही समय चराको संख्या प्रभावित भएको बताइन्छ  । पछिल्ला वर्षहरूमा भने अवस्था पुनः सामान्य बन्दै गएको छ ।


कोशी टप्पु क्षेत्रबाट विस्थापित भएका विभिन्न प्रजातिका चराहरू अहिले बर्जुतालमा देखिन थालेका छन् । यसले तालको जैविक महत्वलाई अझ बढाएको छ ।

स्थानीय शिक्षक मुसहरू यादवका अनुसार हिउँद याममा साइबेरियासहित विभिन्न देशबाट आउने प्रवासी चराले ताल क्षेत्रलाई जीवन्त बनाउने गरेका छन् ।

“फागुनसम्म यहाँ २०० भन्दा बढी प्रजातिका चराहरू बसोबास तथा आहार गर्ने गर्छन्,” उनले भने, “यही कारण अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका पक्षी अनुसन्धानकर्तासमेत अध्ययनका लागि आउने गरेका छन् ।”

ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गी अध्ययनका लागि उपयुक्त मानिन्छ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीलाई अध्ययन–अनुसन्धानका लागि महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ ।

पौराणिक र ऐतिहासिक महत्व

बर्जुताल प्राकृतिक सम्पदामात्र होइन, पौराणिक र ऐतिहासिक महत्वले पनि समृद्ध छ । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटका गाई चराउने क्षेत्रका रूपमा यो स्थान परिचित थियो ।

तालको नामकरणसम्बन्धी अर्को रोचक जनश्रुति पनि प्रचलित छ । स्थानीय बर्जु चौधरीको नामबाट नै तालको नाम ‘बर्जु’ रहन गएको विश्वास गरिन्छ ।

संरक्षण समितिका अध्यक्ष श्रेष्ठका अनुसार एक समय ताल करिब ३५० विघा क्षेत्रफलमा फैलिएको थियो । तर पञ्चायतकालमा भएको अतिक्रमणका कारण यसको क्षेत्रफल घट्दै गएर अहिले १५२ विघामा सीमित भएको छ । उनले तालको संरक्षणका लागि थप प्रयास आवश्यक रहेको बताए ।

मनोरञ्जनका सुविधा

पर्यटकको सुविधालाई ध्यानमा राख्दै ताल क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक व्यवस्था गरिएको छ । तालमा हाल १४ वटा चार सिटे पैडल डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गा सञ्चालनमा छन् ।

चार सिटे पैडल डुङ्गाका लागि प्रतिव्यक्ति १०० रुपैयाँ तथा अन्य डुङ्गाका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। डुङ्गा सयरमार्फत पर्यटकले तालको मध्यभागसम्म पुगेर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् ।

ताल परिसरमा विश्रामका लागि फलामे कुर्सी, वनभोज स्थल, सार्वजनिक शौचालय, बाल उद्यान तथा अन्य आधारभूत सुविधाको समेत व्यवस्था गरिएको छ ।

ताल क्षेत्रमा प्रवेश शुल्क प्रतिव्यक्ति २० रुपैयाँ तोकिएको छ । बाईक, गाडि पार्किङको लागि ।  १० रुपैया शुल्क तोकिएको छ । संकलित रकम तालको संरक्षण, सरसफाइ तथा विकासका काममा खर्च गरिँदै आएको संरक्षण समितिले जनाएको छ ।पुनर्निर्माण र पूर्वाधार विस्तार

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको ३ करोड ६६ लाख रुपैयाँ लागतमा नेपाली सेनाले तालको पुनर्निर्माण गरी २०७३ सालमा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

हाल ताल वरिपरि सडक, वनभोज स्थल, सार्वजनिक शौचालय, बाल उद्यान, तालको बीचमा मन्दिर तथा चराहरूका लागि कृत्रिम टापु निर्माण गरिएको छ । यी संरचनाले तालको आकर्षण थप बढाएको छ ।

बर्जु गाउँपालिकाकी उपाध्यक्ष नितु कुमारी चौधरीका अनुसार तालको प्रचारप्रसारका लागि विगतमा बर्जुताल महोत्सवसमेत आयोजना गरिएको थियो । प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि ताल विकासमा सहयोग गर्दै आएको उनले बताइन् ।४२८ करोडको लगानी योजना

बर्जुतालको दीर्घकालीन विकासका लागि ठूलो लगानी भित्र्याउने प्रयास पनि भइरहेको छ । २०८२ वैशाख १८ र १९ गते विराटनगरमा आयोजित लगानी सम्मेलनमा ‘बर्जुताल पर्यटकीय परियोजना’ अन्तर्गत ४२८ करोड रुपैयाँ लगानी गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा सम्भाव्यता अध्ययनको भई हाल परियोजना विकास सम्झौता पिडिएको चरणमा पुगेको छ । 

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार बर्जुताल परियोजना कोशी प्रदशेको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण लगानी परियोजनामध्ये एक हो ।

उपाध्यक्ष चौधरीका अनुसार उक्त परियोजना कार्यान्वयनमा आएपछि बर्जुतालको स्वरूप नै परिवर्तन हुने अपेक्षा गरिएको छ । जैविक विविधताको केन्द्र

बर्जुताल पर्यटनका लागि मात्र होइन, जैविक विविधताको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन् ।

सन् १९९६ देखि संरक्षण कार्यक्रम सुरु भएपछि यहाँ आउने प्रवासी चराको संख्या उल्लेख्य रूपमा बढेको थियो । यद्यपि सन् २००८ को कोशी बाढीपछि केही समय चराको संख्या प्रभावित भएको बताइन्छ  । पछिल्ला वर्षहरूमा भने अवस्था पुनः सामान्य बन्दै गएको छ ।


कोशी टप्पु क्षेत्रबाट विस्थापित भएका विभिन्न प्रजातिका चराहरू अहिले बर्जुतालमा देखिन थालेका छन् । यसले तालको जैविक महत्वलाई अझ बढाएको छ ।

स्थानीय शिक्षक मुसहरू यादवका अनुसार हिउँद याममा साइबेरियासहित विभिन्न देशबाट आउने प्रवासी चराले ताल क्षेत्रलाई जीवन्त बनाउने गरेका छन् ।

“फागुनसम्म यहाँ २०० भन्दा बढी प्रजातिका चराहरू बसोबास तथा आहार गर्ने गर्छन्,” उनले भने, “यही कारण अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका पक्षी अनुसन्धानकर्तासमेत अध्ययनका लागि आउने गरेका छन् ।”

ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गी अध्ययनका लागि उपयुक्त मानिन्छ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीलाई अध्ययन–अनुसन्धानका लागि महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ ।