१७ आश्विन २०८३, शनिबार 5:00 pm
Banner

देउवाले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्ता वा नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित मौजुदा नेतृत्वले नै आगामी १५औँ महाधिवेशन गराउने र त्यसपछि नेतृत्व हस्तान्तरण हुने विषयमा कुनै दुविधा नरहेको उनले स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा नेता महतले देउवाकै नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको स्मरण गराउँदै १५औँ महाधिवेशन पनि उनकै अगुवाइमा सम्पन्न हुने दाबी गरे। देउवा पक्षले १५औँ महाधिवेशनका लागि वडा तहदेखि नै साङ्गठनिक प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै उनले पार्टीका नेता-कार्यकर्ताहरू महाधिवेशनको तयारीमा उत्साहपूर्वक जुटिरहेको बताए।

विभिन्न प्रतिकूल परिस्थिति र दबाबका बाबजुद पार्टी पङ्क्ति आफ्नै खर्चमा बिनाकुनै तामझाम देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा सङ्गठन निर्माण र महाधिवेशनको अभियानमा सक्रिय रहेको महतको भनाइ थियो। सोही अवसरमा नेता महतले विशेष महाधिवेशनका नाममा पार्टीभित्र विवाद सिर्जना गर्ने र सङ्गठनलाई बिथोल्ने प्रयास भइरहेको आरोपसमेत लगाए।

त्यस प्रकारका गैरसंवैधानिक र बिथोल्ने गतिविधि विरुद्ध पार्टीका निष्ठावान् नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू दृढताका साथ उभिएको उनले उल्लेख गरे। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको सन्दर्भमा बोल्दै उनले पार्टीको मूल आदर्श र न्यायको पक्षमा आफूहरू रहेकाले अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास व्यक्त गरे।