काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताएका छन् ।
शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्म भएका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउन नसकिने बताएका हुन् ।
गणतन्त्र स्थापनापछि भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनतासामु प्रस्तुत गर्नुपर्ने बताए ।
‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन । सामन्ती राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौँ,’ प्रचण्डले भने ।
उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गरे । पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने महत्त्वपूर्ण राजनीतिक काम भएको उनको भनाइ थियो ।

