१९ असार २०८३, शुक्रबार 1783077961
समाचार

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त

काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो । तीमध्येबाट डा. सिंह अध्यक्षमा नियुक्त भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।