हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बागमती प्रदेश सरकारको नेतृत्वबारे बजेट पछि छलफल गरेर अघि बढ्न निर्देशन दिएका छन् । उनले बजेट र सरकारको नेतृत्व फरक विषय भएकाले सरकारबारे बजेट पारित पछि छलफल गरेर अघि बढ्न सकिने बताए ।
शनिबार बिहान बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा महामन्त्री घिमिरेले सम्बोधन गर्दै बजेटमा देखिएका कमी कमजोरीहरूलाई क्रमिक रूपमा सच्याउँदै अगाडि बढ्न सकिने बताए । उनले पार्टीभित्र पूर्ण एकता कायम गर्न बजेटका विषयहरूमा उठेका प्रश्नहरू सच्याउने गरी अघि बढ्न निर्देशन गरे ।
बैठकमा महामन्त्री घिमिरेले सत्तापक्ष र असन्तुष्ट दुवै पक्षका सांसदहरूको कुरा सुनेपछि सरकारबारे बजेट अघि छलफल गर्न नसकिने बताए । महामन्त्री घिमिरेले बजेटका विषयमा रहेका प्राविधिक तथा राजनीतिक असन्तुष्टिहरूलाई आन्तरिक रूपमै समाधान गर्नुपर्ने बताए ।
‘बजेट एउटा विषय हो । तर पार्टीको छवि र सरकारको नेतृत्व अर्को विषय हो ।’ महामन्त्री घिमिरेको भनाइलाई उद्धृत गर्दै एक सांसदले भने– ‘बजेटका कारण पार्टी कमजोर भएको सन्देश जनमानसमा जान दिनु हुँदैन । बजेटका कमजोरी सच्याउन सकिन्छ । त्यसको व्यवस्थापन सरकारले गर्नेछ । तर, सरकार परिवर्तन वा सरकारको नेतृत्वलाई बजेटका सन्दर्भमा छलफल गर्न सकिँदैन । त्यसैले यो विवादलाई व्यवस्थापन गरेर सबै पक्षलाई एकजुट भएर अगाडि बढ्नुपर्छ ।’
उनका अनुसार केन्द्रमा फेरिएको सत्ता समीकरण र नेपाली कांग्रेस–नेकपा एमाले बिचको गठबन्धनको प्रभाव सातै प्रदेशमा पर्ने बताए । महामन्त्री घिमिरेले सत्ता गठबन्धनमा सात प्रदेशको सरकारको विषयमा छलफल हुन बाँकी रहेको बताए । सत्ता गठबन्धनमा छलफल हुँदा बागमती प्रदेशको नेतृत्व कांग्रेसले लिने गरी पहल हुने उनको भनाइ छ । साउन लागेपछि सातै प्रदेशको शक्ति बाँडफाँडबारे थप स्पष्ट हुने उनले बताए ।
‘सत्ता गठबन्धनमा प्रदेश सरकारको बारेमा छलफल हुन बाँकी रहेको छ । कुन प्रदेश कसले लिने भन्ने विषयमा सहमतिअनुसार नै अघि बढिन्छ । बागमती कांग्रेसले नै लिने हाम्रो प्रयत्न रहन्छ’ उनले भने ।


