काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शुन्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिए। सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा उनले उक्त निर्देशन दिएका हुन।
सभामुख खर्यालले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।’
मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्युनिकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिएका छन्।

