काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले कर्णाली राजमार्ग निर्माण गुणस्तर र मापदण्डबारे छानबिन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्णालीमा दुर्घटना दोहोरिनुको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए ।
उनले भने, ‘योभन्दा अगाडिको सरकारले यो राजमार्ग बनायो । के यो राजमार्ग बनाउन लायकको थियो ? यदि यो राजमार्ग मापदण्ड अनुसार छैन भने तत्कालीन सरकारको पालामा राजमार्ग बनाउने इन्जिनियर, ठेकेदारहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
कर्णाली राजमार्ग मापदण्डअनुसार निर्माण भएको हो वा होइन भन्ने विषयमा छानबिन गर्नुपर्ने माग गर्दै यदि निर्माणमा लापरबाही भएको पुष्टि भए तत्कालीन जिम्मेवार इन्जिनियर र ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
उनले कर्णाली प्रदेशमा सुर्खेतदेखि जुम्लासम्म १७-१८ वटा चेकपोइन्ट रहेको र प्रत्येक चेकपोइन्टमा करिब १० मिनेटका दरले सवारी रोकिँदा यात्रुहरूले अनावश्यक सास्ती बेहोर्नुपरेको बताए ।
जनताको सुरक्षा सुनिश्चित गर्न राखिएका चेकपोइन्टहरूले नै यात्रुलाई असहज बनाएको भन्दै उनले यस्ता व्यवस्थाको पुनरवलोकन गर्न सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए।

