२३ असार २०८३, मंगलबार 1783427802
Banner

प्रधानमन्त्री बालेनविरुद्ध अश्लील सामग्री बनाएको आरोपमा युट्युबर पोखरेलविरुद्ध मुद्दा दायर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)विरुद्ध सामाजिक सञ्जालमा अश्लील गाली गरेर सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेलविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ दोबाटेका २४ वर्षीय पोखरेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अभियोगपत्र दर्ता गरेको हो ।

पोखरेल गत चैत २६ गते पक्राउ परेका थिए ।

प्रहरीका अनुसार पोखरेलले हेडिज जङ्गली नामक फेसबुक, टिकटक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेन लगायतका नेताहरुलाई लक्षित गरी अश्लील, अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेका थिए ।

अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमा लाइक, कमेन्ट र पहुँच बढाउने उद्देश्यले अश्लील शब्द प्रयोग गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट बरामद गरेको शाओमी १४टी मोबाइल र सिमकार्ड डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएको छ ।

सरकारी वकिल कार्यालय पाँचथरका सहायक जिल्ला न्यायाधिवक्ता अवसर मादेनले दायर गरेको अभियोगपत्रमा पोखरेललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ । उक्त दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।