काठमाडौं । भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । आज तेजबहादुर खड्काको इजलासले मुद्दामा फैसला गर्दै उनीहरूलाई दोषी ठहर्याएको हो ।

फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ । यस्तै, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ । लामो समयदेखि बहस र सुनुवाइ चलिरहेको यो मुद्दामा अदालतले कसुर कायम हुने निष्कर्ष निकालेको हो। यद्यपि, दोषी ठहर भएका प्रतिवादीले कति सजाय पाउने भन्ने निर्णय भने छुट्टै सुनुवाइमार्फत गरिने भएको छ। यो प्रकरण २०८० सालको सुरुआतमा सार्वजनिक भएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पुनर्वास गराइदिने भन्दै ठूलो रकम असुल्ने गिरोह सक्रिय रहेको खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा राजनीतिक नेतृत्व, उच्च प्रशासनिक अधिकारी, पूर्वसुरक्षाकर्मी तथा बिचौलियासम्मको संलग्नता देखिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो।
अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० जेठमा ३० जनाविरुद्ध संगठित ठगी, किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत विभिन्न अभियोगमा मुद्दा दायर गरेको थियो। मुद्दामा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सन्देश शर्मा, केशव दुलाल, सागर राईलगायत उच्च प्रोफाइलका प्रतिवादी समावेश थिए।
लामो बहस, प्रमाण परीक्षण र दर्जनौं पेशीपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरूमाथि कसुर ठहर गरेको हो। अदालतले सोमबार मूल फैसला सुनाए पनि सजाय निर्धारणका लागि छुट्टै मिति तोक्ने आदेश दिएको छ।
अब अदालतको पूर्णपाठ सार्वजनिक भएपछि कसलाई कुन कसुरमा दोषी ठहर गरिएको हो, कसले सफाइ पाएको छ र दोषी ठहर भएकाहरूले कति सजाय पाउनेछन् भन्ने विस्तृत विवरण खुल्नेछ। यो फैसला पछिल्ला वर्षहरूमा नेपालमा राजनीतिक तथा प्रशासनिक तहसँग जोडिएको सबैभन्दा चर्चित आपराधिक मुद्दामध्ये एकको महत्वपूर्ण न्यायिक निष्कर्षका रूपमा हेरिएको छ।

