२६ असार २०८३, शुक्रबार 1783707631
समाचार

मालपोत प्रमुखसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी अभिलेखमा गैरकानुनी हेरफेर, गलत लिखत तथा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

आयोगको अनुसन्धानका अनुसार, काठमाडौंको साविक साँग्ला गाविस-९ स्थित निजी गुठीको जग्गासम्बन्धी अभिलेखमा ‘गुठी’ जनाइएको विवरण हटाई सरकारी कागजातमा कीर्ते गरिएको पाइएको छ। कार्यालयका कर्मचारी र अन्य संलग्न व्यक्तिहरूको मिलेमतोमा जग्गाधनी दर्ता श्रेस्ताको विवरण सच्याउने, विद्युतीय अभिलेख संशोधन गर्ने र गलत विवरण समावेश गरी सो जग्गालाई रैकर कायम गरिएको आयोगले जनाएको छ।

रैकर कायम गरिसकेपछि आरोपितहरूले उक्त जग्गा नामसारी, दर्ता र राजीनामा पास गरी कारोबारसमेत गरेको तथ्य अनुसन्धानबाट खुलेको छ। यस प्रकरणमा संलग्न तत्कालीन कार्यालय प्रमुख खनालसहित मालपोतका अन्य कर्मचारी र मतियारहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरको गम्भीरताका आधारमा कैद, जरिवाना तथा बिगो असुलउपरको माग दाबी गरिएको छ।