काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ । साउन ८ गतेदेखि सुरु भएको बिक्री प्रक्रियामा योग्य व्यक्ति तथा संगठित संस्थाले प्रतिस्पर्धात्मक बोलपत्रमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १२० रुपैयाँलाई न्यूनतम बिक्री मूल्य तोकेको छ । त्यसैले इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा प्रतिकित्टा १२० रुपैयाँ वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्नुपर्नेछ । उच्च मूल्य प्रस्ताव गर्ने योग्य आवेदकलाई प्रचलित नियमअनुसार शेयर बाँडफाँट गरिनेछ ।
लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंस्थित कार्यालयमा सिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
कम्पनीका अनुसार बोलपत्र पेश गर्ने अन्तिम मिति साउन १८ गते तोकिएको छ । निर्धारित समयभित्र प्राप्त भएका आवेदनमध्ये सबै प्रक्रिया पूरा गरी योग्य ठहरिएका बोलपत्रको मूल्याङ्कनपछि शेयर बिक्री प्रक्रिया टुंगो लगाइनेछ ।
संस्थापक शेयरमा लगानी गर्न चाहने व्यक्ति तथा संस्थाका लागि यो लिलामी एक अवसरका रूपमा रहेको कम्पनीले जनाएको छ ।

