१२ श्रावण २०८३, मंगलबार 1785222467
Banner

सु्नसरीमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरी- सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेशअनुसार अब देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा भने यथावत कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको र जनजीवन सहज बनाउने उद्देश्यले कर्फ्यु हटाइएको जानकारी दिनुभयो। उहाँका अनुसार निषेधाज्ञाको अवधि सकिएपछि परिस्थिति मूल्याङ्कन गरी थप निर्णय गरिनेछ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ। गएरातिदेखि सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका अर्यालले प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव कायम गर्न सुरक्षा निकायसँग समन्वय गरी सक्रिय रूपमा काम भइरहेको बताउनुभएको छ।

घटनापछि तनावग्रस्त बनेका क्षेत्रमा अहिले अवस्था केही सहज बन्दै गएको र स्थानीय दुई समुदायका अगुवासहित सर्वसाधारणले पनि आपसी सद्भाव कायम गर्न पहल गरिरहेको जानकारी प्राप्त भएको छ। यद्यपि सम्भावित अप्रिय घटना रोक्न हरिनगरा, देवानगञ्ज, कप्तानगञ्ज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मीको व्यापक परिचालन जारी राखिएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ।