१५ श्रावण २०८३, शुक्रबार 1785497213
समाचार

एमाले त्यागेर आजपा गएका देवाही गोनाहीका नगरप्रमुख र वडाध्यक्ष पदमुक्त

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानु र वडा नं ४ का वडाध्यक्ष रामप्रवेशप्रसाद कुर्मी स्वतः पदमुक्त भएका छन् । निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै उनीहरू प्रचलित कानुनअनुसार पदमुक्त भएको जनाएको छ ।

नगरप्रमुख साह र वडाध्यक्ष कुर्मी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनीहरू प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा आवद्ध भएपछि एमाले केन्द्रीय सचिवालयले उनीहरूलाई पार्टीबाट निष्कासन गर्दै त्यससम्बन्धी निर्णय निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी प्रचलित कानुन तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको दल परिवर्तनसम्बन्धी व्यवस्थाअनुसार दुवै जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।

नेपालको कानुनी व्यवस्थाअनुसार कुनै निर्वाचित जनप्रतिनिधि आफू निर्वाचित भएको राजनीतिक दल त्यागेर अर्को दलमा गए वा दलले कारबाही गरेको अवस्थामा निश्चित प्रक्रिया पूरा भएपछि उनको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्वाचन आयोगले सूचना प्रकाशन गरी पदमुक्त भएको जानकारी गराएको हो । यो घटनाले रौतहटको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

नगरप्रमुख पद रिक्त भएपछि देवाही गोनाही नगरपालिकाको नेतृत्व व्यवस्थापन, आगामी प्रक्रिया र राजनीतिक समीकरणबारे चासो बढेको छ । साथै वडा नं. ४ को नेतृत्व पनि रिक्त भएकाले त्यहाँको प्रतिनिधित्व र सेवा प्रवाहमा समेत प्रभाव पर्ने देखिएको छ । यस घटनालाई स्थानीय तहमा दल परिवर्तनविरुद्धको कानुनी व्यवस्थाको महत्वपूर्ण अभ्यासका रूपमा पनि हेरिएको छ । आगामी दिनमा अन्य स्थानीय तहका जनप्रतिनिधिका लागि समेत यो निर्णय एउटा सन्देशमूलक नजिर बन्नसक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।