१५ श्रावण २०८३, शुक्रबार 1785521335
Banner

रास्वपाको जति छिटो उदय, त्यति छिटो पतन हुनेछ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाको उदय जति छिटो भयो, त्यति नै छिटो पतन हुने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुने बताएका हुन् ।

‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन,’ उनले भने ।

महासचिव पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाए । वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको उनको भनाइ छ ।

उनले राजनीतिक दलहरुको सहयोग माग्नुपर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरु चाहिँ गम्भीर रुपमा उदासिन देखिएको बताए । त्यस्तै उनले अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरेर नयाँ सरकारले आफ्ना समर्थक र तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई भर्ती गरिरहेको भन्दै आलोचना गरेका छन् ।

विगतका कमीकमजोरीबाट शिक्षा लिएर अब एमालेलाई देशको बलियो र जनताको रोजाइको पार्टी बनाउने उनको भनाइ छ । महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको विशेषतासहितको रूप पक्षमा मात्र नभई अब सार पक्षमा जोड दिएर समाजवाद निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।