१६ श्रावण २०८३, शनिबार 1785570604
Banner

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले जानकारी दिए ।

गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ ।

शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनको भनाइ छ । घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले आफूले नै स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरेको बताए । उनले सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने उद्देश्य रहेको बताए । उनले आफू स्वयं घटनाको अनुगमन गरिरहेको भन्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने दाबी गरे।