१९ श्रावण २०८३, मंगलबार 1785842926
समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजविराज । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१, चिम्टीस्थित महुवा खोलानजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पकरीबाट बथनाहातर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण सडक किनारको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महादेवा गाउँपालिका–१ रामटोलका ३५ वर्षीय सन्तोष राम र पछाडि सवार सोही स्थानका ३७ वर्षीय शंकर राम गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते सन्तोषको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो भने शंकरलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।