१९ श्रावण २०८३, मंगलबार 1785842785
समाचार

सरकारको कामबारे एमाले नेता विष्णु रिजालको व्यंग्य– लुकिङ टु लण्डन, टकिङ टु टोकियो

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं विदेश विभागका सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्नेमा ध्यान अर्कैतिर गएको बताएका छन् । रिजालले राज्यसँग बल छ भन्दै जथाभावी प्रयोग गर्दा त्यसले राज्य आतंक सृजना गरेको उनले बताए ।

सामाजिक सञ्जालमा लेख्दै रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोगग गर्दा आतंकको स्थिति सृजना भएको उनले उल्लेख गरेका हुन् ।

‘फरक पार्टीका नेताहरुमाथि धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन्’ रिजालले लेखेका छन् ‘मुलुक कता जाँदैछ ? कता लैजान खोजिदैछ ? हामीकहाँ भनाइ नै छ नि अति गरे खति हुन्छ ।’

रिजालले सरकारले प्राथमिकतामा राख्नुपर्ने केही विषयहरु पनि सुझाएका छन् । पुँजी बजार निरन्तर ओरालो लागेको, विदेशस्थित दूतावास तीन महिनादेखि खाली भएका, विश्विद्यालय भद्रगोल, विदेश साहायता बन्द भएको उनले उल्लेख गरे ।

‘विदेशी लगानी शून्य अवस्थामा पुगेको, विदेश सम्बन्ध शिथिल भएको र अर्थतन्त्र ओरालो लागेको, सामाजिक सद्धभाव विशृंखलित छ’ रिजाल लेख्छन्, ‘सरकारको ध्यानचाँही अन्यत्रै छ । भन्छन् नि टकिङ टु टोकियो, लुकिङ टु लण्डन ।’