२० श्रावण २०८३, बुधबार 1785930420
समाचार

तरकारी बोकेको ट्रक सडकबाट सय मिटर तल खस्दा दुर्घटना, एक जनाको मृत्यु, चालक घाइते

हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति पालुङबाट वीरगञ्जको लागि तरकारी बोकर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्रकमा सवार राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ कै २३ वर्षीय रञ्जित कार्कीको दायाँ खुट्टा फ्याक्चर भएको र शरीरको विभिन्न भागमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मृतक अर्जुन चालक रञ्जितको काका नाता पर्ने खुलेको प्रहरीले जनाएको छ ।

घटनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।