२० श्रावण २०८३, बुधबार 1785936185
समाचार

विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

काठमाडौँ : वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ ।

विभागले एक सूचना जारी गर्दै स्वीकृतिविना विदेशी विमानस्थलको प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे/नगरेको विषयमा विभागले अनुगमन तथा अध्ययन गर्नका लागि २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग गरेको थियो । उक्त विवरण नदिएका तथा अनुमति नलिइ विदेशी विमानस्थल प्रयोग गरेका कुल ५९८ म्यानपावरलाई विभागले कारबाही गरेको छ।

विवरण पेश नगरेका म्यानपावरलाई पुनः विवरण पेश गर्न यसअघि निर्देशन दिएको थियो । सोही आधारमा विवरण पेश गरेका तर, विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाएका ३९ वटा म्यानपावर कारबाहीमा परेका हुन् ।

त्यस्तै दुई पटक समेत विवरण पेश गर्न दिइएको निर्देशन पालना नगरेका १२४ वटा म्यानपावर पनि कारबाहीमा परेका छन् । उनीहरूलाई ५० हजार रूपैयाँ जरिबाना किन नगर्ने भन्दै सात दिने स्पष्टीकरण सोधिएको छ ।

विभागले अहिले कारबाहीमा परेका ३९ वटा संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम दोस्रो पटक कसुर दोहोरिएको ठहर गर्दै ५० हजार रुपैयाँका दरले जरिबाना गरेको हो ।