२२ श्रावण २०८३, शुक्रबार 1786141062
Banner

करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिदमा हेमराजले जिते १० लाख, अर्थमन्त्रीको बधाई फोन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रममा विजेता बन्नुभएका दुई उपभोक्तालाई फोन गरेर बधाई दिनुभएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा साउन १ देखि १५ गतेसम्मको अवधिका लागि १५ जना उपभोक्तालाई जनही १ लाख रुपैयाँ तथा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गर्ने विजेता छनोट गरिएको थियो। यस अवधिमा अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गरेका तथा नगद कारोबारपछि भ्याट वा प्यान बिल विभागको प्रणालीमा दर्ता गरेका उपभोक्ताहरू कार्यक्रममा सहभागी भएका थिए।

बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नुभएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका हेमराज जोशीलाई अर्थमन्त्री वाग्लेले फोन गरेर बधाई दिनुभएको हो। जोशीले शिवकृष्ण जनरल स्टोर्सबाट सामान खरिद गरेका थिए । 

फोनमा अर्थमन्त्री वाग्लेले भने–‘हेमराजजी, बधाई छ, म संघीय सरकारको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बोल्दैछु , बिल लिने र बिल दिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले सुरु गरेको कार्यक्रममा तपाईंले १० लाख रुपैयाँको बम्पर उपहार जित्नुभएको छ। कर कार्यालयका कर्मचारीहरूले थप जानकारीका लागि सम्पर्क गर्नुहुनेछ ।’

अर्थमन्त्रीको फोनपछि उत्साहित बनेका जोशीले धन्यवाद व्यक्त गरे । उनले साउन ७ गते क्यूआरमार्फत २५० रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

यस्तै, रुपन्देहीकी सपना खरेलले १ लाख रुपैयाँको पुरस्कार जित्नुभएको छ। उहाँले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन ।

अर्थमन्त्रीले फोन गरेर बधाई दिँदा खरेलले सुरुमा विश्वास गरेका थिएनन् ।  फोन संवादका क्रममा अर्थमन्त्रीले भने–‘नमस्कार सपनाजी, म स्वर्णिम वाग्ले , करदाता प्रोत्साहन कार्यक्रममा तपाईंले १ लाख रुपैयाँ पुरस्कार जित्नुभएको छ। तपाईंले ९ सय रुपैयाँको सामान खरिद गर्नुभएको थियो होइन?”

जवाफमा खरेलले भने –‘ए हो र? मैले सामान त किनेकी थिएँ ।’

त्यसपछि अर्थमन्त्रीले उनलाई खरिदको बिल सुरक्षित राख्न आग्रह गरेका थिए ।

अर्थमन्त्री वाग्लेले दुवै विजेतालाई आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार प्राप्तिसम्बन्धी विस्तृत प्रक्रिया जानकारी गराउने बताए । 
कार्यक्रममा छनोट भएका अन्य विजेतासँग पनि सम्पर्क गर्ने प्रयास गरिएको भए पनि फोन सम्पर्क हुन नसकेको जनाइएको छ।

सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको करदाता प्रोत्साहन कार्यक्रममार्फत बिल लिने र बिल दिने संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्। तर, खरिद गर्दा भ्याट वा प्यान बिल लिन अनिवार्य छ।

नगद कारोबार गर्ने उपभोक्ताले भने प्राप्त सक्कल भ्याट वा प्यान बिल आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रमअन्तर्गत हरेक दिन एक जना उपभोक्तालाई करकट्टीपछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा दुई जनालाई १०–१० लाख रुपैयाँसम्मको नगद उपहार प्रदान गरिनेछ। उपहार विजेताको घोषणा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरिने विभागले जनाएको छ।

एक लाख रुपैयाँको पुरस्कारमा लागू हुने कर सरकारले नै व्यहोर्ने भएकाले विजेताले पूरा १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। १० लाख रुपैयाँको बम्पर उपहारमा भने प्रचलित कानुनअनुसार २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।