२४ श्रावण २०८३, आइतबार 1786286413
Banner

शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई जिम्मेवार बनाउन शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठक सुरुवात गर्दै सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पारेका हुन् ।

बैठकमा थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाए । ‘सरकारका मन्त्रीको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन ? यो जनताको जान्न पाउने अधिकार हो,’ उनले भने ।

त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारको कोठामा थुन्न पाइन्छ ? के हाम्रो संविधानले यस्तो अनुमति दिन्छ ? यस्ता असंवैधानिक र अराजक गतिविधि विरुद्ध कांग्रेसले दह्रोसँग आवाज उठाउनुपर्छ।’

नेपाली कांग्रेस एक राष्ट्रिय शक्ति भएकोले यसको काँधमा ठुलो राष्ट्रिय जिम्मेवारी रहेको थापाले बताए । नेपालभित्रका विभिन्न शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा कांग्रेसका अगाडि मुख्य तीन वटा जिम्मेवारी रहेको उल्लेख गरे ।  ‘निर्वाचनले हामीलाई प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी दिएको छ, यो हाम्रो संवैधानिक जिम्मेवारी हो,’ थापाले भने, ‘सरकारलाई जिम्मेवार बनाउने र सरकारका गलत काममाथि प्रश्न गर्ने तथा खबरदारी गर्ने काम हाम्रो हो।’

थापाले सरकारको कार्यशैलीमाथि आलोचना गर्दै शासकीय अराजकताविरुद्ध आवाज उठाउनुपर्ने बताए । उनले  सानेपामा जारी बैठकमा महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा रहेर पनि नागरिकका मुद्दाहरूमा कडा रूपमा उभिनुपर्ने र सरकारलाई बाटो बिराउन दिन नहुने बताए ।