काठमाडौं। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १ महिने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ उठाउन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार आज साउन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३१ गते हुनेछ। यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।
निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।
बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरमा गरिएको बोललाई पहिलो प्राथमिकता दिई क्रमशः आह्वान रकमसम्म बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदरमा परेको बोल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
निक्षेप संकलन गरिएको रकम भुक्तानी मितिअघि फिर्ता वा समयअगावै भुक्तानी गर्न नसकिने व्यवस्था गरिएको छ। स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ।

