२८ श्रावण २०८३, बिहिबार 1786620693
Banner

रोल्पाको थबाङ पहिरो अपडेट : मृतक संख्या ३ पुग्यो

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। बिहीबार बिहानदेखि जारी खोजी तथा उद्धार अभियानका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो।

यसअघि १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको पुष्टि भइसकेको थियो। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। हालसम्म ९ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर,९ वर्षीय असिम पुन मगर,६ वर्षीय अशोक पुन मगर,७५ वर्षीय डलबहादुर पुन मगर,८० वर्षीय अजम्बर पुन मगर,७८ वर्षीय बलबहादुर पुन मगर,७२ वर्षीय लिलबहादुर पुन मगर,७१ वर्षीया मनि पुन मगर,६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।

बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पंचकुमार बाखु, इलाका प्रहरी कार्यालय थबाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विपद् उद्धार टोलीहरू घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। प्रहरीको विपद् उद्धार सामग्री र घटनास्थल अनुसन्धान टोलीसमेत परिचालन गरिएको छ।

पहिरोमा थप व्यक्ति पुरिएको हुन सक्ने आशंकामा खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।