३० श्रावण २०८३, शनिबार 1786778101
अर्थ

प्रभु बैंकको ब्याज आम्दानी २९ प्रतिशतले बढ्यो

काठमाडौं ।  गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु बैंककाे खुद नाफा ऋणात्मक देखिए पनि खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र निक्षेप संकलनमा वृद्धि देखिएकाे छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ थियो । बैंकले गत आवमा २ अर्ब २१ करोड ७२ लाख रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । यस्तै, कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

बैंकिङ क्षेत्रमा देखिएको कर्जा असुलीसम्बन्धी चुनौती र खराब कर्जाको दबाबका कारण भने बैंकको समग्र नाफामा असर परेको छ । बैंकको निष्क्रिय कर्जा अघिल्लो आवको ७.०१ प्रतिशतबाट बढेर गत आवमा १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जाको सम्भावित जोखिम व्यवस्थापन गर्न बैंकले ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । अघिल्लो आवमा यस्तो प्रोभिजनिङ २ अर्ब ४० करोड रुपैयाँ थियो ।

यसको प्रभावले गत आवमा बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ । अघिल्लो आवमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकले खराब कर्जाको व्यवस्थापन र वित्तीय सूचकमा सुधारलाई प्राथमिकतामा राख्दै आगामी वर्ष व्यवसायलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । कर्जा गुणस्तर सुधार, असुलीमा तीव्रता र व्यवसाय विस्तारमार्फत बैंकले आगामी अवधिमा वित्तीय अवस्था सुधार गर्ने लक्ष्य लिएको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन १.७१ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब ४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ४.८३ प्रतिशतले घटेर २ खर्ब १४ अर्ब ५४ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ६७.८६ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख २८ हजार रुपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँ ऋणात्मक रहेको छ ।

खराब कर्जाको दबाबका कारण गत आवको नाफामा असर परे पनि ब्याज आम्दानी, सञ्चालन आम्दानी र निक्षेप वृद्धिले बैंकको आगामी सुधारका लागि आधार तयार गरेको छ । याे बैंक पछिल्लाे समय अनेकाैँ चुनाैँतीकाे समाना गर्दै अघि बढिरहेकाे छ । खासगरी बैंकका उच्च अधिकारीहरुमाथि नै यतिबेला मुद्दामामिला चलिरहेका कारण याे बैंक अप्ठ्याराे परिस्थितिकाे सामना गरिरहनु परेकाे छ ।