३० श्रावण २०८३, शनिबार 1786827502
Banner

नेतृत्व छाड्दिनँ, मनपरी गर्ने भए पार्टी छाडे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो नेतृत्वको विकल्प खोज्ने प्रयासप्रति कडा असन्तुष्टि जनाउँदै आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । पार्टीमा बस्ने हो भने विधि, नीति र अनुशासन मान्नुपर्ने भन्दै ओलीले नेतृत्व परिवर्तनको मागसहित गतिविधि गर्नेहरूलाई पार्टी छाडेर जानसमेत चेतावनी दिएका छन् ।

गृहजिल्ला झापा पुगेर लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक उद्घाटन गर्दै ओलीले पार्टी अप्ठ्यारोमा परेका बेला नेतृत्वबाट पन्छिने आफ्नो स्वभाव नभएको बताए । उनले पार्टीभित्र पछिल्लो समय देखिएको गतिविधिलाई अराजकता र अनुशासनहीनताको संज्ञा दिँदै त्यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे ।

ओलीले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चलाउनेहरूप्रति पनि आक्रोश व्यक्त गरे । पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने विषयमा छलफल गर्ने, हस्ताक्षर अभियान चलाउनेजस्ता गतिविधि पार्टीको विधि र प्रक्रियाविपरीत भएको उनको भनाइ थियो ।
‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने रु कसले हटाउने रु के मजाक हो यो रु यस्तो अराजकता हुन्छ रु कोही हस्ताक्षर गर्दै हिँड्या छ,’ ओलीले भने ।

एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले पार्टीको आगामी नेतृत्व र संगठन पुनर्संरचनाबारे बहस अघि बढाइरहेका छन् ।

ओलीले भने सामाजिक सञ्जालदेखि पार्टीका औपचारिक तथा अनौपचारिक गतिविधिमा समेत अनुशासनको सीमा नाघ्न नहुने बताए । पार्टीको आलोचना गर्ने नाममा जथाभावी अभिव्यक्ति दिने र संस्थागत निर्णयलाई चुनौती दिने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने उनको भनाइ थियो ।

‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ,’ ओलीले भने, ‘अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के–के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ । तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ।’

उनले कुनै पनि संस्थामा रहेर काम गर्दा त्यसको नीति, नियम, विधि र अनुशासन पालना गर्नुपर्ने भन्दै एमालेमा पनि यही आधारमा संगठन सञ्चालन हुने बताए ।