काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको प्रस्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दै लैजानुपर्नेमा जोड दिए। नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवाद र असन्तुष्टिहरूलाई आपसी संवादका माध्यमबाट सहजै समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन। जनताको चाहनाअनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ नेता कोइरालाले भने।
आगामी १५औं महाधिवेशनको प्रसङ्गमा बोल्दै उनले पार्टीको सभापति पदका लागि आफ्नो पनि इच्छा रहेको बताए। तर, पार्टीका साथीहरूसँग विस्तृत परामर्श गरेर र उनीहरूको सुझावका आधारमा मात्र अन्तिम निर्णय लिने उनको भनाइ थियो।
साथै, अर्का नेता डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गर्दै उनले यदि शेखर कोइराला सभापति पदका लागि अघि बढेको खण्डमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

