११ आश्विन २०८३, आइतबार 1790498887
Banner

‘बीपी समयभन्दा अगाडि हेर्न सक्ने, कसैसँग तुलना गर्न नसकिने नेता हुनुहुन्थ्यो’  : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला समयभन्दा अगाडि हेर्न सक्ने र कसैसँग तुलना गर्न नसकिने नेता भएको बताएका छन्।

थापाले बीपीका राजनीतिक जीवनमा आफ्नै किसिमका बाध्यता रहेको उल्लेख गर्दै परिस्थितिअनुसार कहिले कता र कहिले कता मोडिनुपर्ने अवस्था रहेको बताए। उनले बीपीलाई खोलाको बहावसँगै आफैं डुंगाको चालक बन्नुपर्ने अवस्थाका नेताका रूपमा चित्रण गरे। उनले कांग्रेसको वर्तमान अवस्थाबारे पनि टिप्पणी गर्दै निर्वाचनको परिणामका आधारमा पार्टी सानो–ठूलो देखिए पनि कांग्रेस राष्ट्रिय शक्ति भएको बताए।

“कहिले ठूलो भइन्छ, कहिले सानो भइन्छ, तर हामी राष्ट्रिय शक्ति हौँ,” थापाले भने, “अहिले हाम्रो पार्टी सानो छ, त्यो निर्वाचनले तय गरेको हो। राष्ट्रिय पार्टीका रूपमा हामी सानो छौँ, तर हामी राष्ट्रिय शक्ति हौँ। यसको निर्धारण चुनावले होइन, हामीले लिने राष्ट्रिय नीतिले गर्छ।”

थापाले कांग्रेसभित्र बीपीको नाम आवश्यकता अनुसार मात्रै स्मरण गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाए। नेताहरूले अहिले धेरै बीपीको नाम लिने गरे पनि बीपीको विचार र दृष्टिकोणलाई व्यवहारमा उतार्न नसकेको उनको भनाइ थियो।

“आफूलाई चाहिँदा मात्रै बीपीलाई सम्झिने भएको छ। हाम्रो पार्टीका नेताहरू अहिले खुब बीपीको नाम लिने गर्छन्। आफैं आएर बोल्ने क्षमता छैन अनि बीपीको नाम लियो, सक्कियो,” थापाले टिप्पणी गरे।

थापाले बीपीलाई केवल नामका रूपमा सम्झिनेभन्दा उनले देखाएको दूरदृष्टि, राष्ट्रिय नीति र राजनीतिक दृष्टिकोणलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।