२१ भदौ २०८३, आइतबार 1788696169
Banner

आज नाग पञ्चमी, किन गरिन्छ नागको पूजा ?

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासका आधारमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।

यस्तै, भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटको आकारमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ, जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि रहिआएको छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्, जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ–

एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मारेर पनि रिस शान्त नभएपछि किसानको घरमा गएर उनकी श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडिन् र बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गर्दै ‘मलाई नमार्नुस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु’ भनेर बिन्ती गरेपछि नागिनीले दया गरी उनलाई छोडिन् ।

मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडशोपचारले पूजाआराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले ‘तिम्रो भक्तिबाट म प्रसन्न भएँ, वर माग’ भनेपछि उनले मौका छोपी ‘मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस्’ भनी वर मागिन् ।

प्रसन्न भएकी नागिनीले ‘तथास्तु’ भनी किसानको सम्पूर्ण परिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

यसबाहेक, गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखेर गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् मानिने मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गराई घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जीवलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादका रूपमा चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले सोसेर मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने तथ्य अनुसन्धानबाट पुष्टि भएको छ । यही कुरा बुझेर नै ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमी पर्वसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

महाभारतसँग जोडिएको नागपञ्चमीको कथा

नागपञ्चमीसँग सम्बन्धित सबैभन्दा चर्चित कथा महाभारतसँग जोडिएको छ। कथाअनुसार कुरु वंशका राजा परीक्षितको मृत्यु नागराज तक्षकको सर्पदंशबाट भएको थियो। आफ्ना पिताको मृत्युबाट क्रोधित परीक्षितका छोरा जनमेजयले संसारका सबै सर्पलाई नष्ट गर्ने उद्देश्यले विशाल सर्पसत्र यज्ञ सुरु गरे।

यज्ञमा उच्चारण गरिएका मन्त्रका कारण संसारभरका सर्प अग्निकुण्डमा तानिन थाले। नागराज तक्षक भने देवराज इन्द्रको शरणमा पुगे। तर जनमेजयले यज्ञको शक्ति अझ बढाएपछि तक्षकसँगै इन्द्रसमेत यज्ञको अग्नितर्फ तानिन थाले।

स्थिति गम्भीर बनेपछि नागदेवी मानसाका छोरा आस्तिक ऋषि यज्ञस्थल पुगे। आफ्नो ज्ञान र तर्कद्वारा जनमेजयलाई प्रभावित पार्दै उनले सर्पहरूको विनाश रोक्न आग्रह गरे। अन्ततः जनमेजयले यज्ञ रोक्ने निर्णय गरे र तक्षकसहित धेरै नागको जीवन जोगियो।

श्रावण शुक्ल पक्षको पञ्चमीका दिन यो घटना भएको धार्मिक विश्वासका कारण सोही दिनलाई नागपूजासँग जोडेर नागपञ्चमीका रूपमा मनाउन थालिएको मानिन्छ।

शिवदेखि विष्णुसम्म, नागसँग जोडिएका छन् धेरै देवी–देवता

हिन्दू धर्ममा नागको महत्व बुझ्न विभिन्न देवी–देवतासँगको सम्बन्ध हेर्न सकिन्छ। भगवान शिवको घाँटीमा नाग बेरिएको देखिन्छ। यसलाई शक्ति, निर्भयता र नियन्त्रणको प्रतीक मानिन्छ। त्यस्तै भगवान विष्णु शेषनागको शय्यामा क्षीरसागरमा शयन गरेको धार्मिक वर्णन पाइन्छ।

भगवान कृष्णको जीवनसँग पनि नागको कथा जोडिएको छ। यमुनामा बसेर पानी विषाक्त बनाएको कालिय नागलाई कृष्णले नियन्त्रणमा लिएको कथा हिन्दू धर्ममा निकै प्रसिद्ध छ। कृष्णले कालियको फणमाथि नृत्य गरेर उसको विष र अहंकारलाई परास्त गरेको कथा सुनाइन्छ।

त्यस्तै देवी मनसालाई नागकी देवी तथा सर्पदंशबाट रक्षा गर्ने देवीका रूपमा पूजा गरिन्छ।

समुद्र मन्थनमा वासुकीको भूमिका

नागको धार्मिक महत्व अर्को प्रसिद्ध कथा समुद्र मन्थनमा पनि देखिन्छ। हिन्दू पुराणअनुसार देवता र असुरहरूले अमृत प्राप्त गर्न समुद्र मन्थन गर्दा नागराज वासुकीलाई डोरीका रूपमा प्रयोग गरेका थिए। मन्दराचल पर्वतलाई मन्थनको आधार बनाइएको थियो।

समुद्र मन्थनका क्रममा अत्यन्त विषालु हलाहल विष निस्कियो। त्यसले सृष्टिलाई नै संकटमा पार्ने अवस्था आएपछि भगवान शिवले विष पिएर संसारलाई बचाएको धार्मिक कथा छ। यसरी वासुकी नागको भूमिका हिन्दू धर्मको महत्वपूर्ण पौराणिक घटनासँग जोडिएको छ।

नागपञ्चमीमा के गरिन्छ ?

नागपञ्चमीका दिन बिहानै स्नान गरी घरको मूलढोकामाथि नागको चित्र टाँस्ने चलन छ। त्यसपछि नागको पूजा गर्दै दूध, दही, अक्षता, फूल, चन्दन, धूप तथा अन्य प्रसाद चढाइन्छ।

कतिपय ठाउँमा नागको बासस्थान मानिने पोखरी, इनार वा अन्य स्थानमा पनि पूजा गरिन्छ। महिलाहरूले परिवारको सुख–शान्ति तथा दाजुभाइको स्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा पनि छ।

यद्यपि वास्तविक सर्पलाई दूध खुवाउने चलन वैज्ञानिक रूपमा उपयुक्त मानिँदैन। त्यसैले धार्मिक आस्था कायम राख्दै सर्प तथा अन्य वन्यजन्तुको संरक्षण र सुरक्षित व्यवहारलाई प्राथमिकता दिनु आवश्यक छ।

काठमाडौँ उपत्यकाका तीन ठाउँमा देखिन्छ विशेष रौनक

काठमाडौँ उपत्यकामा नागपञ्चमीका बेला नागपोखरी, टौदह र नागदह विशेष चर्चामा हुन्छन्। नक्सालस्थित नागपोखरीमा नागपञ्चमीका दिन विशेष पूजा गरिन्छ। यसको नाम नै नागसँग जोडिएको छ।

त्यस्तै टौदहलाई पनि नागहरूको बासस्थानसँग जोडेर हेर्ने धार्मिक तथा लोकविश्वास छ। नागपञ्चमीका दिन यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ।

नागदह पनि नागसँग सम्बन्धित महत्वपूर्ण धार्मिक स्थल हो। टौदह र नागदहसँग जोडिएका विभिन्न पौराणिक तथा स्थानीय कथाले यी क्षेत्रलाई सांस्कृतिक रूपमा विशेष बनाएका छन्।

अनन्तदेखि तक्षकसम्म, को–को हुन् प्रमुख नाग ?

धार्मिक ग्रन्थमा विभिन्न नागहरूको उल्लेख पाइन्छ। अनन्त वा शेषनाग, वासुकी, कर्कोटक, कालिय र तक्षक प्रमुख नागका रूपमा चर्चित छन्।

अनन्त वा शेषनागलाई अनन्त शक्ति र ब्रह्माण्डीय सन्तुलनसँग जोडिन्छ। वासुकी नागराजका रूपमा परिचित छन्। कालिय भगवान कृष्णसँग जोडिएका छन् भने तक्षक महाभारतमा राजा परीक्षितको मृत्युसँग सम्बन्धित छन्।

नागपञ्चमीको सन्देश के हो ?

नागपञ्चमीलाई केवल सर्पको पूजा गर्ने पर्वका रूपमा बुझ्दा यसको वास्तविक महत्व केही हदसम्म सीमित हुन्छ। यो पर्वले मानिस र प्रकृतिबीचको सम्बन्ध, धार्मिक आस्था, पौराणिक इतिहास र वातावरणीय चेतनालाई एकै ठाउँमा जोड्छ।

सर्पलाई डर र घृणाको प्रतीक मात्र नबनाई प्रकृतिको सन्तुलनमा यसको भूमिका बुझ्नु पनि आवश्यक छ। त्यसैले नागपञ्चमीको धार्मिक परम्पराले आजको समयमा एउटा महत्वपूर्ण सन्देश दिन्छ—प्रकृतिमा रहेका हरेक जीवको आफ्नै भूमिका र महत्व हुन्छ, त्यसैले मानिसले प्रकृतिसँग सहअस्तित्व कायम गर्न सिक्नुपर्छ।

यही कारण नागपञ्चमी पुस्तौँदेखि चलिआएको एउटा धार्मिक पर्व मात्र नभई नेपालको संस्कृति, प्रकृति र आध्यात्मिक विश्वासलाई जोड्ने जीवन्त परम्पराका रूपमा आज पनि उत्तिकै महत्वपूर्ण छ।