२ भदौ २०८३, मंगलबार 1787054562
Banner

सवारी दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

मकवानपुर । सवारी दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित अन्य तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ ।

प्रहरीका अनुसार मंगलबार बिहान भीमफेदी–६ स्थित जुरिखेलमा स्कारपियो दुर्घटना हुँदा न्यायाधीश डाँगीसहित छ जना घाइते भएका थिए । दुर्घटनामा तुलसीपुर–९ का ५७ वर्षीय डाँगी, दाङ राप्ती–८ का ३२ वर्षीय चालक छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घाइते भएका हुन् ।

प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो काठमाडौंँबाट वीरगन्जतर्फ आउँदै गर्दा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।