काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले जनताले आफ्ना गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई आफूहरूले सदनमा खोजिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद पुनले चूनावका बेला गरेका प्रतिवद्धताबारे चासो राख्दा मत फिर्ता लैजानु भन्ने जवाफ दिएका गृहमन्त्रीलाई आफूहरुको पनि धेरै प्रश्न रहेकाले सदनमा खोजिरहेको बताएका हुन् ।
उनले देशभर भइरहेका प्राकृतिक विपद्, त्यसको पूर्वतयारी तथा प्रतिकार्यका विषयमा गृहमन्त्रीले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे । नेता पुनले ग्यासका साथै किसानले मल नपाएर लाइन बस्नुपरेको, पासपोर्ट बनाउन र खानेपानीका लागिसमेत नागरिकहरू लाइनमा बस्न बाध्य भएको उल्लेख गरेका छन् ।
पुरानो प्रवृतिको विरोध गर्दै आएका नयाँ पार्टी सत्तामा पुग्दा पनि समस्या समाधान हुनुको सट्टा थप लाइनहरू मात्र थपिएको भन्दै उनले आलोचना गरे । नेता पुनले वर्तमान सरकारले देशको नेतृत्व गरिरहेकाले विगतका स्थापित वा पुराना दलहरूलाई मात्र दोष देखाएर आफ्ना कमजोरी ढाकछोप गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

