२ भदौ २०८३, मंगलबार 1787077535
राजनीति

सभापति गगन थापाको नेतृत्वमा काँग्रेसले बनायो महाधिवेशन व्यवस्थापन समिति

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति थापाको नेतृत्वमा समिति गठन गरेको हो । समितिले महाविधेशनका लागि आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्नेछ ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन व्यवस्थापन समिति पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा रहनेछ र यसमा आवश्यक सदस्यहरू रहनेछन्। महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्नेछ। बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालीसेले उपसमितिका संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने  जानकारी दिएका छन् ।

महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेश गर्ने निर्णय भएको छ। जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने जनाइएको छ। यस्तै ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गर्ने, प्रदेश निर्वाचन विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेश गर्ने तय भएको छ । यसैगरी संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेश गर्नेछन् । बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय पनि गरेको छ।