४ भदौ २०८३, बिहिबार 1787251187
राजनीति

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएकोबारे प्रमुख आयुक्तले खोले मुख

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको भनिएको बारेमा मुख खालेका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सांसदहरूलाई जवाफ दिएका हुन् । केही समयअघिको घटनालाई लिएर सांसदहरूले प्रष्ट पार्न माग गरेका थिए । राईले पासपोर्ट प्रकरणको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बताएका हुन् ।

उनले भने, ‘छलफल गर्न बोलाउन सकिन्छ । उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्‍यौँ । सुझाव लिन बोलाउन सकिन्छ । त्यो विषयमा के भएको हो भनेर, तपाईँहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ । मुद्दा दर्ता भइसकेको छ । अभियोजन वेबसाइटमै पाइन्छ । अभियोजनमा हामीले त्यो ठिक थियो कि थिएन ? कैफियत कति छ भन्ने कुरो त्यो अभियोजन पत्रै तपाईँहरूले हेर्नुस्, स्पष्ट देख्नुहुन्छ । कैफियत बिना हामीले लगेको अवस्था त छैन ।’