काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आफूलाई किस्तीमा आएको प्रधानमन्त्री पद विगतमा हाँसी हाँसी अस्वीकार गरिदिएको बताएका छन् ।

आज आयोजित रास्वपाको नीति, सङ्गठन र नेतृत्व कार्यक्रमको पहिलो शृङ्खलामा बोल्दै सभापति लामिछानेले आफूले हाँसी हाँसी किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताएका हुन् ।
उनले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा आफूलाई सो अफर आएको बताउँदै त्यसबेला भावी आन्दोलन र जनताको आशालाई निभ्न नदिन त्यो त्याग गरेको बताए । उनले केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिने बताए ।
उनले २१ सिटको दलको नेता हुँदा आफ्नो मात्रै हस्ताक्षर बाँकी राखेर प्रधानमन्त्रीको प्रस्ताव आएको बताए ।
उनले भने, ‘त्यतिबेला मैले चाहेको भए दुई–चार महिना, ६ महिना प्रधानमन्त्री बन्थेँ होला । सिंहदरबारमा तस्बिर झुण्ड्याउँथे होला । तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो । मसँग यसलाई रोक्ने अधिकार थिएन । यही महसुस गरेर किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो ।’
यसलाई आफूले ठूलो गर्वको विषय नबनाएको र केवल इतिहासको पानामा दर्ज गर्न खोजेको उनले बताए ।

