काठमाडौँ : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-३ औरही पुलस्थित सडकमा ढल्केवरबाट लालभित्तीतर्फ जाँदै गरेको ज.१ त ८२३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी लोहारपट्टी नगरपालिका-१ बगडा बस्ने ४० वर्षीय शेष नारायण यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको सरकारी अस्पताल बर्दिवासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
धनुषाकै शहिदनगर नगरपालिका-७ धबौलीस्थित सडकमा ज.१२ प ४१०९ नम्बरको मोटरसाइकल र ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल एकआपसमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा ज.१२ प ४१०९ नम्बरका मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने १८ वर्षीय निसन साहको मृत्यु भएको छ । गम्भीर घाइते साहको उपचारका लागि काठमाडौँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ‘अनटेष्ट’ मोटरसाइकलमा सवार ३ जनाको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ यस मोडस्थित सडकमा भे.१ ज १६३४ नम्बरको हायस बा.प्र.०१-००६ ख ३८४१ नम्बरको ट्रकमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा हायसमा सवार सल्यानका २७ वर्षीय गणेश बुढाको मृत्यु भएको छ। गम्भीर घाइते बुढाको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको हो। हायसमा सवार अन्य ९ जना घाइतेको देबदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालक र हायस चालकलाई नियन्त्रणमा लिएको छ।
झापाको अर्जुनधारा नगरपालिका-९ बाह्रघरेस्थित सडकमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे.१० प ५२११ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६२ वर्षीय टेक कुमार राईको बिहीबार राति मृत्यु भएको छ। गम्भीर घाइते राईको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका-१८ गैरीचौतारा घुम्तीस्थित सडकमा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा कारमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत बिहार रक्सोलका २६ वर्षीय कार चालक नवदीप कुमार यादव र कारमा सवार २६ वर्षीय प्रियान्सु पाण्डे छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
इलामको इलाम नगरपालिका-१० बाह्रगोलाईस्थित सडकमा झापाबाट इलामतर्फ जाँदै गरेको डब्लु बि २९ बि २९४४ नम्बरको ट्रक अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सहचालक भारत दक्षिण दिनेशपुर गंगारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भयो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
महोत्तरीको सम्सी गाउँपालिका-५ पोखरभिण्डास्थित सडकमा भोलिबाट सम्सीतर्फ आउँदै गरेको ज.१२ प १०९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ५६ वर्षीय विलास यादवको बिहीबार बेलुकी मृत्यु भएको छ। गम्भीर घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्का १ जना साइकलयात्रीको जानकी एकेडेमिक हस्पिटलमा उपचार भइरहेको छ। प्रहरीले फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-२ बालापुर मिलनचोकमा हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ह १३७८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीको शुक्रबार बिहान मृत्यु भएको छ। गम्भीर घाइते बालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

