१९ भदौ २०८३, शुक्रबार 1788547012
समाचार

बाढी प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति देखिएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

शुक्रबार विदुरको ढुंगे लगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्दै अध्यक्ष ओलीले बाढीपीडितको गुनासो समेत सुनेका थिए ।

त्यसक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले बाढीका कारण कल्पनै नगरिएका बस्तीहरूमा समेत नदी पसेको र अग्ला घरहरूका छाना नै डुब्ने गरी अकल्पनीय विनाश भएको बताए ।

अध्यक्ष ओलीले उद्धार र राहत मात्र नभई बाटाघाटा, पुल लगायत भौतिक पूर्वाधारको पुनर्निर्माण, पीडितहरूको रोजगारी, जीविका, आवास, शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध कसरी गर्ने भन्ने गम्भीर चिन्ताको विषय रहेको उल्लेख गरे ।

बालबालिकालाई तत्काल पठनपाठनको व्यवस्था गर्नुपर्ने तथा नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरूका लागि सम्पर्कविच्छेद भएका ठाउँसम्म स्वास्थ्य सेवा र औषधि पुर्‍याउनुपर्ने आवश्यकता देखिएको उनले बताए । बाढी प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले आकाशमा हेलिकप्टर उडे पनि कहाँ र किन उडिरहेका छन् भन्ने स्पष्ट नभएको र मन्त्रीले हिलोमा मान्छे बोकेको भन्दै एआई सिर्जित नक्कली तस्वीरहरू बनाएर प्रचार र लोकप्रियता कमाउने काम भएको टिप्पणी गरे । जनतालाई प्रचार नभई वास्तविक राहत चाहिएको अध्यक्ष ओलीको भनाइ छ ।