२१ भदौ २०८३, आइतबार 1788721079
Banner

अध्यक्ष ओलीको तस्वीर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता एआईमार्फत निर्मित भ्रामक तथा अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै एमालेले आपत्ति जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आज बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतका साथ यस्ता अराजनीतिक, अनैतिक तथा आपत्तिजनक गतिविधि गरिएको भन्दै आचार्यले त्यसको घोर निन्दा एवं भर्त्सना गरेका छन्।

आचार्यले यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका हुन् ।

साथै, प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको आचार्यले ध्यानाकर्षण गराएका छन्।