काठमाडौँ । रसुवालगायत अन्य जिल्लामा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १, हजार ३६९ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार हजारौं मानिस अझै बेपत्ता रहेका छन् भने बृहत् रूपमा खोज तथा उद्धार कार्य जारी छ ।प्राधिकरणले बुधबार साँझ ६ः०० बजेसम्मको जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

प्राप्त तथ्यांकअनुसार सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव फेला परेको छ । त्यसैगरी नवलपरासी पूर्वमा २२७, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौंमा थप २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
५८७ विदेशीसहित ५ हजार १३२ जना अझै बेपत्ता
बाढी प्रभावित क्षेत्रमा ५ हजार १३२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरूमा ५८७ जना विदेशी नागरिकसमेत रहेका छन् । रसुवा र नुवाकोटमा स्थानीय नागरिकका साथै अन्य जिल्लाबाट आएका नागरिक, सरकारी कर्मचारी, सुरक्षाकर्मी र वित्तीय संस्थाका कर्मचारीहरू ठुलो संख्यामा सम्पर्कविहीन छन् ।
१३ हजारभन्दा बढीको सकुशल उद्धार, ३७ वटा होल्डिङ सेन्टर सञ्चालन
सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट हालसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राख्न ३७ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । हाल नुवाकोटको होल्डिङ सेन्टरमा २,६९४, रसुवामा ६३४ र धादिङमा २६३ जना आश्रित छन् ।
उपचार र मनोसामाजिक परामर्श
विभिन्न १९ वटा अस्पतालमा ३३३ जना घाइतेहरूको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । यसबाहेक नेपाली सेनाको स्वास्थ्य शिविरबाट ३,५३५ र सशस्त्र प्रहरीको शिविरबाट ३,६०६ जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन् । विपद्पछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा १५० जनाभन्दा बढी मनोसामाजिक परामर्शदाता खटाइएको छ ।
२१ हजार सुरक्षाकर्मी खटिए, १३ सयभन्दा बढी हवाई उडान
विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि देशभरबाट कुल २१ हजार १८५ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू अहोरात्र खटिएका छन् ।
त्यसैगरी, सडक सञ्जाल टुटेका स्थानमा हवाई मार्गबाट उद्धार र राहत वितरणलाई तीव्रता दिइएको छ । हालसम्म कुल १,३४८ हवाई उडान भइसकेका छन् । आज मात्रै ८४ वटा उडान भएका छन् ।

