२५ भदौ २०८३, बिहिबार 1789064938
समाचार

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो ।

संकलित ३१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको एमपीआईले जनाएको छ । यस सहयोगबाट विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका नागरिकहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने विश्वास एमपीआईएले व्यक्त गरेको छ ।

एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले उक्त सहयोग रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै एमपीआईएका अध्यक्ष मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए ।

उनले विपद्का कारण दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सबै सदस्य संस्थाहरूलाई धन्यवाद व्यक्त गरे ।