काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दल तथा विज्ञहरूसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो धारणा राखेका हुन्।
विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा प्रधानमन्त्रीले अन्तरपार्टी संवादलाई प्राथमिकता दिनुपर्ने उनले बताए। व्यस्तताका बीच पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ। पछिल्लो विपद्का विषयमा सरकार केही पछि परेको जस्तो देखिएको टिप्पणी उनले गरे।
बैठकपछि बोल्दै नेपालले भने, ‘हालको जलवायुजन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै दुईवटा विषयमा विशेष जोड दिइएको छ।’ उनले थपे, ‘पहिलो, सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिई समय–समयमा बैठक आयोजना गर्ने। दोस्रो, संसद्भित्र विशेष संसदीय समिति गठन गर्न सम्माननीय सभामुखज्यूसमक्ष आग्रह गर्ने।’
सम्भव भएसम्म एक साताभित्र संसदीय विशेष समिति गठन गर्नुपर्ने भन्दै उनले उक्त समितिले जलवायु परिवर्तन र पछिल्ला विपद्का घटनाबारे गम्भीर छलफल, सरकारका कामको अनुगमन तथा आवश्यक सुझाव दिनुपर्ने बताए। उनले भने, ‘छलफलमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिसँगै छुटेका अन्य दलहरूलाई समेत समेटेर सर्वदलीय संयन्त्रलाई थप समावेशी बनाउन आवश्यक छ।’
राहत र पुनर्स्थापनाको काममा समेत सरकारको थप सक्रियता आवश्यक रहेको नेपालले उल्लेख गरे। उनले भने, ‘हालको विपद्मा अझै उद्धार तथा खोजी, राहत वितरण, उपचार, पुनर्स्थापना र पीडितको यथार्थ तथ्याङ्क सङ्कलनमा सरकारको विशेष ध्यान जान आवश्यक छ। राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ।’
जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा उठाउनुपर्नेमा उनले जोड दिए। नेपालले लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय मुलुकले भोगिरहेका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गराउँदै उनले न्यायोचित क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताए।
उनले भने, ‘यस्ता राष्ट्रिय महत्त्वका विषयमा प्रधानमन्त्रीले स्वयं सर्वदलीय तथा विज्ञहरूसँग नियमित संवाद र परामर्श गरी स्पष्ट राष्ट्रिय धारणा निर्माण गर्न आवश्यक छ।’ उनले अगाडि भने, ‘जलवायु विपद् र त्यसबाट उत्पन्न क्षतिका विषयमा सरकार, संसद्, राजनीतिक दल तथा विज्ञहरूबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्छ।’
सर्वदलीय बैठकमा सहभागी दलहरूको दायरा थप फराकिलो बनाउनुपर्ने विषयसमेत उठेको नेपालले जानकारी दिए। रास्वपा सभापति रवि लामिछानेले बैठकका लागि पहल गरेको र सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी भएको उल्लेख गर्दै अब प्रधानमन्त्रीले पनि राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद अघि बढाउनुपर्ने उनको भनाइ छ।

